एमाले अदालतको आदेशले बनेको पार्टी होः खनाल

काठमाण्डु टुडे २०७९ जेठ १२ गते १८:४२ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रमुख प्रतिपक्षी नेता केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भन्दै आएकामा आपत्ति जनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा बिहीबार संसद बैठकमा खनालले राजनीतिक समस्या समाधान गर्ने थलो संसद भएको चर्चा गर्दै संसद छल्ने र विघटन गर्ने ओलीको कदमले उक्त विषय अदालतमा पुगेको बताए ।

समस्या अदालतमा पु¥याउनेले अदालतको फैसलाबारे टिप्पणी गर्न नमिल्ने उनको भनाइ थियो । ओली र उनको दल एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको भनेकामा आपत्ति जनाएका खनालले एमाले अदालतले बनाइदिएको पार्टी भएको आरोप लगाए ।

०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेको र निर्वाचन परिणामपछि एकीकरण भएको भन्दै खनालले विघटित भइसकेको एमाले अदालतले ब्युँताएको टिप्पणी गरे ।

अदालतले आदेशमा उत्पन्न भएको पार्टीले संसदमा बहुमतको समर्थन प्राप्त सरकारलाई परमादेशको भन्न नमिल्ने तर्क उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us