आर्ट काउन्सिलमा ‘कला प्रदर्शनी’

काठमाण्डु टुडे २०७९ जेठ १२ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, १२ जेठ–  सिर्जना कलेज अफ फाइन आर्टस्को आयोजनमा काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा एकहप्ते कला प्रदर्शनी आयोजना गरिएको छ । कलेजसँग सम्बद्ध २४ प्रतिनिधिका ५१ वटा चित्र प्रदर्शनीमा समावेश रहेको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा एक कलाकारका पाँच वटासम्म चित्र समेटिएको छ । कलाकारले विभिन्न समसामयिकसहित, जनजीविका, अमूर्त, धार्मिक, सांस्कृतिक तथा सम्पदा र पुरातात्विक क्षेत्रका चित्र सिर्जना गरेका छन् । फ्याँकिएका वस्तुबाट बनेका चित्रसमेत प्रदर्शनीमा राखिएको छ ।

कलेजका संस्थापक सदस्य तथा प्राध्यापक सुनिल रञ्जितले सिर्जना २०२२ शीर्षकमा कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । कलेजमा आबद्ध अग्रज कलाकारको सिर्जना प्रदर्शनी गर्दा विद्यार्थीलगायत अन्य कलाकारलाई समेत प्रेरणा मिल्ने र समाजमा कलेजको पनि उपस्थिति देखिने भएकाले प्रदर्शनी आयोजना गर्दै आइएको रञ्जितले जानकारी दिए ।

उनका अनुसार गत वर्ष कोरोनाका कारण प्रदर्शनी आयोजना गर्न नसकिए पनि यसपटक चौथो संस्करणका रुपमा प्रदर्शनी आयोजना गरिएको हो । यसरी कलेजले सन् २०१८ देखि प्रदर्शनी गर्दै आइएको थियो । प्रदर्शनीअन्तर्गत बिहीबार विद्यार्थीले प्रत्यक्षरुपमा मुहार चित्र सिर्जना गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us