नुवाकोटमा माओवादीले जोगाइदियो एमालेको इज्जत

काठमाण्डु टुडे २०७९ जेठ ११ गते ८:२० मा प्रकाशित

काठमाण्डु, ११ जेठ– नुवाकोटका १३ मध्ये एक मात्र पालिकामा एमालेले जित हात पारेको छ ।

यसअघि ०७४ को निर्वाचनमा दुई नगरपालिका विदुर र बेलकोटगढीसहित बहुमत पालिका जितेको एमाले यसपटक नराम्ररी खुम्चिएको हो । ०४९ को पहिलो स्थानीय निर्वाचनदेखि जित्दै आएको विदुर गुमाएपछि एमाले वृत्तमा निराशा उत्पन्न भएको छ । विदुरमा काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको थियो ।

मेयरमा एमालेका निवर्तमान मेयर सञ्जु पण्डित पराजित भए । काँग्रेसका राजनलाल श्रेष्ठ मेयर माओवादी केन्द्रकी प्रभा बोगटी उपमेयरमा निर्वाचित भए । जिल्लाका सबै पालिका गुमाउँदा किस्पाङ गाउँपालिकामा भने माओवादीको सहयोगमा एमालेले अध्यक्ष जितेको छ । किस्पाङमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

एमालेबाट अध्यक्षमा बीरवल तामाङ र माओवादी केन्द्रबाट अर्जुनप्रसाद न्यौपाने उपाध्यक्षमा निर्वाचित भए । तामाङ ३ हजार ६ सय ३८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका छत्र लामाले ३ हजार ४ सय ५२ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीका न्यौपानेले ३ हजार ७ सय १२ पाए ।

एमालेले किस्पाङका वडामा एउटा पनि जितेन । वडा नम्बर १, ४ र ५ को अध्यक्षमा कांग्रेस तथा २ र ३ को अध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us