महाकाली नदीमा भारतले पक्की तटबन्ध बनाएकोमा कानुनमन्त्रीले गराए गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

काठमाण्डु टुडे २०७८ चैत ९ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, ९ चैत–  दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा भारतले एकमतर्फी पक्की तटबन्ध बनाइरहेको छ । महाकाली नगरपालिका-४ बाँगाबगरमा सीमा नदी महाकाली पारी पट्टी भारतीय पक्षले पक्की तटबन्धन बनाउँदै आएको हो । उक्त कार्य तत्काल रोक्न स्थानीय प्रशासनले गरेको अनुरोध भारतले अटेरी गर्दै आएको छ ।

पानीको बहाव नेपालतर्फ पठाउनेगरी भइरहेको पक्की तटबन्ध निर्माण कार्य रोक्न वारीबाट नेपालीहरूले ढुंगा प्रहारसमेत गर्दै आएका छन् । तर, पनि भारतीय पक्षले निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।

स्थानीय प्रशासन र स्थानीय जनताको अवरोधलाई अटेरी गर्दै आएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट गरी मन्त्री बडूले ध्यानाकर्षण गराएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us