भुवनेश्वरी नमूना मावि परिगाउँबाट अवैध काठ बरामद

काठमाण्डु टुडे २०७८ माघ १२ गते १८:०८ मा प्रकाशित

डडेल्धुरा, १२ माघ– डडेल्धुराको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमूना मावि परिगाउँ परिसरबाट अवैध काठ बरामद भएको छ । डिभिजन वन कार्यालय डडेल्धुराले सिसम र हल्दोका गरि १८८.८० क्युफिट काठ बरामद गरेको हो ।

प्रारम्भिक विवरणअनुसार सिसमका आठ र हल्दोका दुई रूख काटिएको पाइएको अनुसन्धान अधिकृत सन्तोष भट्टले बताए । उनका अनुसार सिसमका आठ रुखको ४५.०६ क्युफिट र हल्दोको १४३.७४ क्युफिट काठ बरामद गरिएको हो ।

विद्यालयको भवन निर्माणका लागी ठेक्का सम्झौता भएको र भवन बनाउने स्थानमा एउटा सिसिमको रुख परेकाले जरासहित उखेको विद्यालयका प्रध्यानाध्यापक डम्बर सिंह थ्वालले बताए। उनले वडा कार्यालयबाट रुख कटानका लागि वन कार्यालयलाई सिफरिस गरे पनि वन कार्यालयको निर्णयअघि नै  रुख कटान गरेको बताए ।

सिसम, साल, खयर र हल्दोका साना ठूला गरी धेरै रुख कटान गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य केशव नाथले बताए । रुख काट्ने विषयमा आफूलाई कुनै जानकारी नभएको र प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा कटान गरिएको उनको भनाइ छ। ‘धेरै रूख कटान भएको छ। विद्यालय प्रयोजनको लागि काटिएको होइन् । यदि विद्यालय प्रयोजनका लागि कटान हुन्थ्यो भने मलाई पनि जानकारी हुनुपर्थ्याे। तर, जानकारी छैन्,’ उनले भने, ‘कटान गरिएका रुख राति नै डोजर प्रयोग गरी खाडलमा पुर्ने काम भएको छ। कतिपय काठ नजिकैका स्थानीयको घरमा लुकाएर राखिएको छ।’

डिभिजन वन कार्यालयले देखाउनको लागि मात्रै काठ बरामद गरेको उनी बताउँछन् । परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका कर्मचारीले मौखिक रुपमा रुख कटान गर्न अनुमति दिएको स्थानीय बताउँछन् । काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभिजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयंको देखाउन खोजेको उनीहरुको भनाइ छ ।

विद्यालयले रुख कटान गरेपछि तीन हजार हालेर दाउरा खरिद गरेको स्थानीय हरि नाथले बताए । रुख कटान गरिएको विषयमा सोधपुछ गर्न डिभिजन वन कार्यालयले भुवनेश्वरी नमूना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालयको अनुमतिविना विद्यालय परिसरभित्रका रुखहरू कटान गरिएपछि उनीहरूलाई सोधपुछ गर्न नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत रामविचारी ठाकुरले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us