सप्तरी, २२ मंसिर– हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा– ६ बस्ने सकिल हुसेन मियाँ र उनका साथी गुल्जार मियाँ तथा मस्तकिम मियाँ लामो समय नेपाल बाहिर रहँदै आएका थिए । उनीहरुमाथि शङ्खलाबद्ध बलात्कार र हत्याको आरोप छ । सिरियल किलर सकिललाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को कतार शाखाले कतारमा पक्राउ गरी २०७४ फागुन २० गते नेपालको जिम्मा लगाएको थियो । सकिका नाममा २०७२ असार ४ गते इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो । पक्राउ परेका गुल्जार उनै सकिलका मुख्य सहयोगी हुन्
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल र गुल्जारलगायतले साविक टिकुलिया गाविस–९ घर भई पटेर्वा गाविस–१ बस्ने सबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेर आफ्नै कुखुरा फारम नजिकै गाडेका थिए । साविक जण्डौल गाविस–८ की गोरहनिया भनिने दुलारीदेवी मुखिया साह र त्रिकौल गाविसको निर्मलादेवी साहको हत्यामा पनि उनी संलग्न रहेको प्रहरीको भनाइ छ । सकिलमाथि आफ्नै ससुरा र बुहारीको समेत हत्या गरेको आरोप छ ।
सप्तरीदेखि सुनसरीसम्मका नौ जनाको शृङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा प्रहरीले मुख्य योजनाकारका रुपमा सकिललाई पायो । आरुल मियाँ र पाण्डव पासवानको हत्या आरोपमा पक्राउ परे पनि उम्केका सकिलले एकपछि अर्को गरी नौ जनाको हत्या गरेको बताइएको छ ।