काठमाण्डु, २१ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा०का निवर्तमान अध्यक्ष कमल थापाले अब राप्रपा विभाजन नहुने बताएका छन्। आइतबार सम्पन्न महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने म्यान्डेट दिएकाले अब राप्रपा विभाजन नहुने बताएका हुन् ।
मंगलबार मात्र पनि उनले राप्रपालाई भजन मण्डली बनाउने निर्मल निवासको योजना पूरा हुन नदिइने विज्ञप्तिमार्फत् उल्लेख गरेका थिए। थापा अध्यक्षमा पराजित भए पनि उनको प्यानलका धेरैजना पदाधिकारी र सदस्यमा विजयी भएका थिए। उनीहरुलाई बधाई दिन आयोजित कार्यक्रममा थापाले भने, ‘महाधिवेशनको म्यान्डेट एकता हो, अब राप्रपा फुट्दैन।’
‘निर्वाचन परिणाम मेरो निम्ति पनि अप्रत्यासित हुन गयो। मैले सपनामा पनि सोचेको थिइनँ, राप्रपाको महाधिवेशनमा मैले नै पराजित हुनुपर्ला भनेर’, उनले भने, ‘देशभरबाट मलाई भोट हाल्ने भनेर आएका प्रतिनिधिलाई अन्तै भोट हाल्न लगाइयो। जे भए पनि यो हामीले बनाएको पार्टी हो, हामीले यसलाई राम्रो बनाउनुपर्छ।’
उनले मत परिणाम आफ्नालागि अप्रत्यासित भएको भन्दै पराजयबारे सपनामा पनि नसोचेको बताए।