जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैनः प्रचण्ड

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर–  सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्  ।

शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले भने– ‘न्यायालयतिर के होला भन्ने चिन्ता । अर्कोतिर एमसीसी भन्ने छ । एमसीसीले के गर्छ भन्ने चिन्ता । २८ गते सदन बोलाइएको छ । केहीले सोचेका छन्–एमसीसीको लागि बोलाइएको हो कि भनेर । कोहीले सोचेका छन्–महाअभियोगको लागि भनेर । यो त हिउँदे अधिवेशन हो । यो अधिवेशन हामीले बोलाउनु नै पर्थ्यो, प्रतिनिधिसभाको महत्त्वको लागि पनि । अब त्यहाँ भित्र राजनीतिक दलहरूको समझदारी बनाएर, जान्छौँ हामी । एमसीसीको पनि राष्ट्रिय सहमति र राजनीतिक दलहरूको समझदारीबाटै जान्छ । जबरजस्ती गरेर कसैले हुने कुरा छैन । महाअभियोग पनि त्यो राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने/नहुने कुरा हुन्छ । त्यसकारण त्यसमा चिन्ता नमानी लोकतन्त्र र गणतन्त्रको पक्षमा, हामीले ल्याएको परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us