काठमाण्डु, ४ मंसिर– बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेको रमणीय स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ ।
किंवदन्तीअनुसार द्वापर युगका राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो । बिहीबारदेखि लागेको मेलामा आज (शनिबार) बिहानसम्म एक लाखभन्दा बढीले नमोबुद्धको पूजाअर्चना गरेको मेला मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार गएराति अबेरसम्म नमोबुद्धमा मेला लागेको थियो । मेलामा परम्परागत गीत–नृत्य प्रस्तुत गरिएको थियो ।
कोरोना महामारीका कारण बितेका दुई वर्ष मेला रोकिएपछि यो वर्ष नमोबुद्धको मेलामा घुइँचो बढेको बताइएको छ । बितेको दुई वर्षसम्म औपचारिक पूजाअर्चना गरी जात्रा मनाइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताए । मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बाल्ने गरिन्छ ।