चितवन, १२ कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि महाभारत हुने बताएका छन् ।
पार्टीको भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशमा यो पटक हिंसात्मक लाडाइँ नभएर राजनीतिक लडाइँ हुने बताएका हुन् ।
‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ,’ प्रचण्डले भने, ‘तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’
‘केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध एउटै पार्टीभित्र बसेर धेरै लडियो, उनको स्वेच्छाचारी प्रवृत्तिका विरूद्ध पार्टीमा धेरै आलोचना भए तर ओली प्रवृत्ति कायमै रह्यो,’ उनले भने, ‘बाध्य भएर त्यसकाविरूद्ध लडाइँ लड्नुपर्ने भयो। उनलाई बिदा गरेरै छाडियो।’
प्रचण्डले जिन्दगीभर प्रधानमन्त्री बन्ने सपना बोकेर बालुवाटारमा भव्य दरबार बनाउँदै गरेका ओलीसामु माओवादीले ठूलो आतंक सृजना गरेको समेत दाबी गरे।