चितवन, ८ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो।
एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन्। यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन्। ‘महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौं,’ उनले भनिन्।
उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकाले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ। सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताइन्।