न्यायकाे माग गर्दै बाँकेमा ११ दिनदेखि धर्ना

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १७:३७ मा प्रकाशित

बाँके, १ कात्तिक– बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकार कर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् ।

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको ११ दिन भइसक्दा समेत सरकारले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान नथालेको महिला अधिकार मञ्च बाँकेकी केन्द्रिय सदस्य सकिना तेलीले बताए ।

बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेको छ ।

धर्नामा बसेकी महिला अधिकार कर्मी तेलीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताए । बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको पीडितहरुले बताएका छन् ।

उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् । सरकारले अनुसन्धान समिति गठन गरेर अपराधीलाई कारबाही गर्ने आश्वासन दिएपनि अहिलेसम्म अभियुक्तहरुलाई समातेर अनुसन्धान गर्न ढिलाइ गरेको उनीहरुको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us