मुख्यमन्त्री फेर्न माग गर्दै काँग्रेस नेताहरु बालुवाटारमा

काठमाण्डु टुडे २०७८ असोज २३ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, २३ असोज– नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु असन्तुष्ट देखिएका छन् । अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका काँग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो । प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी छाडेपछि अब सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने रावलले प्रधानमन्त्री देउवासँग माग गरेका छन् ।

यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भएको थियो । तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन् ।

हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एकीकृत समाजवादीको समर्थन छ । यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो । हाल ५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us