काँग्रेस अधिवेशनः राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

काठमाण्डु टुडे २०७८ असोज १० गते ११:४२ मा प्रकाशित

लमजुङ, १० असोज – नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ ।

नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् ।

योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए ।‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने योजनाबद्ध षड्यन्त्र रचियो,’पौडेलले भने, ‘मतपत्रमा कोलम मात्र हटाएर सिरियल नम्बर समेत एउटै राखेर हराउने योजना बनाएको बुझेपछि हामीले मतदान रोक्न लगायौँ ।’

आफू जित सुनिश्चित भएका कारण पार्टीका केही स्वार्थीले यस्तो षड्यन्त्र रहेको आरोप पौडेलको छ ।उनले भने – ‘मैले विद्यार्थी राजनीति हुँदै स्थानीय स्तरमा राजनीति गर्दै आएकाले मेरो लोकप्रियतासँग अत्तालिएर केही षड्यन्त्रकारीले योजनाबद्धरुपमा हराउने योजना बनाए,  मेरो जित सुनिश्चित थियो । त्यसैले कसरी हराउने भनेर योजनाबद्ध षड्यन्त्र रचियो।’

उमेदवार पौडेलले मतपत्रको विषयलाई लिएर विरोध गरिएपछि मतदान स्थगित भएको साथै  खसेको मतपत्र र खस्न बाँकी मतपत्र सुरक्षाकर्मीको रोहवरमा जलाइएको निर्वाचन अधिकृत दिनेश चिलुवालले  बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us