कास्की, १ असोज– पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ ।
कोरोना महामारीका कारण विकासका काम ठप्प हुँदा खर्च प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । महानगरद्वारा यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा वित्त महाशाखा प्रमुख जयराम पौडेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार चालुतर्फ ८७ प्रतिशत र पुँजीगततर्फ ५०.५ प्रतिशत मात्र खर्च भएको हो ।
उक्त महाशाखाले कूल रु एक अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये रु एक अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको थियो । सबैभन्दा कम सामाजिक विकास महाशाखाले (४५.४४ प्रतिशत) खर्च गरेको छ । उक्त महाशाखामा रहेको कूल रु १० करोड २२ लाख ७१ हजार बजेटमध्ये रु चार करोड ६४ लाख ७१ हजार रकम मात्र खर्च भएको उनको भनाइ छ । प्रमुख पौडेलले भने, “पूर्वाधार तर्फको बजेट भने ४८.१ प्रतिशत खर्च भएको छ । कूल बजेट रु दुई अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये रु एक अर्ब २९ करोड २७ लाख ४५ हजार रकम खर्च भएको छ ।”
पोखरा महानगरको वित्तीय अवस्था सशक्त रहेको दाबी गर्दै उनले भने, “महानगरमा यो आर्थिक वर्षमा कुनै योजनालाई रकम नपुग्ला कि भन्नुपर्ने अवस्था छैन ।” राजस्व सङ्कलनमा भने महानगर केही कमजोर देखिएको उनको भनाइ छ ।
समीक्षा गोष्ठीमा महानगरका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी भरतराज पौडेलले वार्षिकरूपमा गरिने समीक्षाले महानगरको प्रशासनिक अवस्थाबारे जानकारी गराएका थिए । कोरोना महामारीको विषम अवस्थामा समेत महानगरबासीको सेवामा कुनै कसर बाँकी नराखी काम गरिएको उनको भनाइ थियो ।
पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष डा.आरसी लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सामाजिक विकास महाशाखा, स्वास्थ्य महाशाखा, शिक्षा महाशाखा, पूर्वाधार महाशाखा, कृषि तथा पशु विकास महाशाखाका प्रमुखले पनि वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा महानगरका ३३ वडाका अध्यक्ष, कार्यपालिका सदस्य एवं विभिन्न महाशाखाका प्रमुखको सहभागिता थियो ।