आमा – छोराले सँगै दिए १२ को परिक्षा

रासस २०७८ भदौ ३१ गते १३:०५ मा प्रकाशित

दैलेख, ३१ भदौ – बुधबारदेखि  देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ  आमा र छोरा पनि सहभागी भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा  राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले  दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।

जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले आज राससलाई जानकारी दिए ।

टीकाकुमारीले भनिन्, “बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ ।

पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ”। नयाँ पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा यहाँ पढाइको महत्वबारे चर्चा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us