कैैलाली, १२ भदौ– एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी विकले पार्टी छाडेकी छन् ।
अछामबाट समानुपातिकतर्फकी सांसद विक एमालेबाट विभाजित भएर माधव नेपाल नेतृत्वमा गठित नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा खुलेकी हुन् । विकले कम्युनिष्ट आन्दोलन तथा राजनीतिक क्रान्तिका उपलब्धी रक्षाका लागि आफूले एकीकृत समाजवादी पार्टी रोजेको बताइन् । विकले आफू पहिल्यैदेखि पार्टीभित्र माधव नेपाल समूहमा रहेको उल्लेख गरिन् ।
‘म केपी ओलीको प्रतिगमनविरुद्ध थिएँ’, उनले भनिन्, ‘जिम्मेवारीका कारण खुलेर बाहिर बोलेको थिइनँ ।’ उनले एमालेमै बसेर प्रतिगमनको मतियार बन्न नसक्ने भएकाले आफू सो निर्णयमा पुगेको बताएकी छन् । भीम रावललगायत केही नेताले धोका दिए पनि सुदूरपश्मिच प्रदेशमा ओली समूहलाई कमजोर पार्न सक्ने तागत आफूहरुको रहेको उनको भनाइ छ ।
विगतमा भीम रावलकै नेतृत्व र प्रेरणाले आफूहरु माधव नेपालनजिक भएको भन्दै उनले रावलले ओलीसँग घाँटी जोड्नुको रहस्य नबुझेको उल्लेख गरिन् ।