टोखामा आजदेखि कोरोना खोप लगाइँदै

रासस २०७८ साउन १८ गते ११:४८ मा प्रकाशित

काठमाण्डु, १८ साउन–  काठमाडौंको टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ।

साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो।

खोप आज बिहान १० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

नगरप्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागिसकेकाले खोप कार्यक्रमलाई आजदेखि पुनः निरन्तरता दिइएको बताए।

नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएको छ।

नगरपालिकाभित्रका मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us