माओवादीले आज मन्त्रीको टुगो लगाउँदै, को–को छन् आकांक्षी ?

काठमाण्डु टुडे २०७८ साउन १८ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, १८ साउन– नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने भएको छ ।

मन्त्री चयनका लागि माओवादीले अपराह्न ३ बजे पार्टी मुख्यालय कोटेशव। पेरिसडाँडामा स्थायी समिति बैठक बोलाएको छ । माओवादीबाट यसअघि २९ असारमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री नियुक्त भएका थिए ।

मन्त्रीका लागि दाबेदारको संख्या धेरै भएपछि निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सकस भएको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, हरिबोलप्रसाद गजुरेल, मातृकाप्रसाद यादव, देवेन्द्र पौडेल, जयपुरी घर्ती, हितबहादुर तामाङ, अमनलाल मोदी,  सुदन किराँती, हिमाल राई, महेश्वर गहतराज, बिना मगरलगायत मन्त्रीका आकांक्षी छन् ।

सत्ता गठबन्धन आवद्ध पाँच दलीय गठबन्धनले शक्ति बाँडफाँटमा सहमति जुटाउन नसक्दा प्रधानमन्त्री नियुक्त भएको तीन साता बित्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । गठबन्धन आवद्ध एमालेको माधवकुमार नेपाल समूह पार्टी एकताका लागि जारी वार्ता प्रभावित हुने भन्दै तत्काल सरकारमा नजाने मनस्थितिमा पुगेको छ ।

यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव दल आधिकारिकता विवाद सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयलाई चुनौती दिँदै महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटमा छिनोफानो भएपछि मन्त्रीबारे निर्णय गर्ने मुडमा छन् । देउवा माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जपसा र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना बित्नै लाग्दा मन्त्रिपरिषद विस्तार गर्न नसकेका कारण आलोचित देउवा नेतृत्वको सरकारमा हाल काँग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री, उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us