कुलमान घिसिङ विद्युत प्राधिकरण फर्कंदै

काठमाण्डु टुडे २०७८ साउन १६ गते ८:३१ मा प्रकाशित

काठमाण्डु, १६ साउन– कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी थाल्न ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय श्रोतका अनुसार त्यससम्बन्धी फाइल उठाउने काम सुरु भइसकेको छ । घिसिङलाई प्राधिकरण वार्षिकोत्सवको औपचारिक कार्यक्रम सकिएलगत्तै पुनः जिम्मेवारी दिने गरी काम अघि बढेको प्रचण्डका एक सचिवालय सदस्यले जानकारी दिए । विद्युत प्राधिकरणको वार्षिकोत्सव भदौ १ मा हो ।

घिसिङ प्रचण्डनिकट मानिन्छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिसिङलाई ०७३ भदौ २९ गते चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेका थिए । २०७८ भदौ २८ मा कार्यकाल सकाएर घिसिङ घर गएका थिए । लोडसेडिङ अन्त्य र प्राधिकरणभित्रका बेथिति अन्त्यका लागि भूमिका खेलेको भन्दै घिसिङ जनतामाझ लोकप्रिय छन् । सरकार परिवर्तनसँगै घिसिङलाई पुनः प्राधिकरणको नेतृत्व दिन जनस्तरबाट माग उठ्न थालेको छ ।

ओलीले मानेका थिएनन् घिसिङलाई पुनःनियुक्ति दिन
तत्कालीन ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । तर, प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण उक्त प्रस्ताव मन्त्रिपरिषदको एजेण्डामा राखिएन । घिसिङलाई पुनः प्राधिकरणको नेतृत्वमा निरन्रतता दिन चाहेको र मन्त्रिपरिषदमा प्रस्ताव लगेको अभिव्यक्ति दिएपछि ओलीले मन्त्री पुनलाई बालुवाटार बोलाएर हप्काएका थिए । तत्कालीन नेकपा अध्यक्ष प्रचण्डले पनि घिसिङको निरन्तरताका लागि ओलीलाई दबाब दिएका थिए । तर, ओली तयार भएनन् ।

आममानिसले घिसिङको पुनर्नियुक्तिका लागि दबाब दिए पनि ओलीले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए । ओलीले राम्रो काम गरेर प्रसिद्धि कमाएका घिसिङलाई रोकेर सालोलाई प्राधिकरणको जिम्मेवारी दिएको भन्दै चर्को आलोचना भएको थियो । यद्यपि इलामका स्थायी बासिन्दा शाक्य ओली पत्नी राधिका शाक्यका नातेदार भने होइनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us