महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह

काठमाण्डु टुडे २०७८ साउन ६ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, ६ साउन– जसपा का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा आउन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् । मंगलबार बिहान आफ्नो मागबारे देउवालाई जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरलाई देउवाले यस्तो आग्रह गरेका हुन् ।

सो क्रममा देउवाले विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सहभागी भएर सहयोग पुर्याउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘सरकार विस्तार हुँदैछ, त्यसमा तपाईंको पार्टीबाट पनि सहयोग हुनुपर्यो’, देउवाको भनाइ उदृत गर्दै ठाकुर पक्षका कार्यकारिणी सदस्य मुकेश झाले बताए ।

जवाफमा अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन गर्ने प्रकृया अगाडि बढाए मात्र सरकारमा आउने भनेको झाले बताए ।

जसपामा उपेन्द्र यादव समूहले देउवालाई विश्वासको मत दिने भएपछि ठाकुर समूहले पनि अन्तिममा देउवाको पक्षमा निर्णय गरेको थियो । यद्यपी जसपाको विवाद कायमै रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us