ओलीकै कारण नहुने भयो एमाले एकता

काठमाण्डु टुडे २०७८ असार ८ गते ७:०२ मा प्रकाशित

काठमाण्डु, ८ जेठ–  एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नै पार्टी एकतामा बाधक देखिएका छन् । एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन् ।

सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो । यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए । तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याकेट हाल्न पुगेको छ ।

ओली पक्ष अदालतमा भ्याकेटको निवेदन लिएर गएपछि नेता नेपालले आपत्ति जनाएका छन् । कर्णाली प्रदेशका सांसदमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि भ्याकेटमा जाने निर्णय गरेर पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने टिप्पणी नेपालले गरेका छन् ।

‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । पार्टी एकता बचाउन अधिकतम लचिलो भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो’, वरिष्ठ नेता नेपालले भनेका छन्, ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कत जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ, सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु ।’  नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us