पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग

रासस २०७८ असार ७ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, ७ असार–  अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् ।

गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ ।

सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिनलाई कडाइ गर्न, शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सङ्घले सबैलाई अनुरोध गरेको छ ।

साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि सङ्घले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us