‘कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई’

काठमाण्डु टुडे २०७८ असार ५ गते ७:५९ मा प्रकाशित

काठमाण्डु, ५ असार– जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा बुझाएको छ। ठाकुर पक्षले कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि आयोगलाई बुझाएको हो ।

नागरिकलाई उपलब्ध भएको कागजातअनुसार २०७७ पुस ७ गतेको कार्यकारिणी समिति बैठकको माइन्युटिङमा भनिएको छ, ‘केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार पार्टीको पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।’

यसैगरी माइन्युटिङको २ नम्बर बुँदामा भनिएको छ, ‘बैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारका लागि पहिलो वरीयताको अध्यक्षलाई दिने निर्णय गरिएको छ ।’ बैठकको माइन्युटिङमा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवसहित ३८ जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षर छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले जाली काम गरेको बताए । २०७७ पुस ७ गते कार्यकारिणी समितिको बैठक नबसेको र ठाकुरलाई कार्यकारिणी समिति फेरबदल गर्न अधिकार दिने सम्बन्धमा कुनै निर्णय नगरिएको यादवले बताए ।  ‘उहाँहरूले सबै काम जाली गर्नुभएको छ। ठाकुरजीलाई त्यस्तो कुनै अधिकार दिइएको छैन’, यादवले भने ।  नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us