सरकारलाई अहिले नै विश्वासको मत दिने बेला भएको छैनः पृथ्वीसुब्बा गुरुङ

काठमाण्डु टुडे २०७८ असार ४ गते १५:३५ मा प्रकाशित

कास्की, ४ असार– नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई प्रदेशसभाकै परिपक्व व्यक्ति तथा नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भन्दै त्यस्ता व्यक्तिलाई विश्वासको मत दिन्न भनेर भन्न नमिल्ने बताए । तर मुख्यमन्त्री पोखरेलले आफ्नो लागि नभई गठबन्धन सरकारका लागि विश्वासको मत मागेका कारण आफूले विश्वासको मत दिन नसक्ने उनले प्रस्ट पारे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले विषयगत तथा दायित्व र जिम्मेवारीवोधका हिसाबले सरकारको मूल्यांकन गर्ने बताए । जुन उद्देश्यले गठबन्धन बनेर सरकार गठन भएको छ, त्यसका आधारमा आफूहरुले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता नदेखिएको उनले प्रस्ट पारे । ‘मुख्यमन्त्रीजीलाई व्यक्तिगत रुपमा विश्वास नगर्नुपर्ने कारण छैन, तर व्यक्तिको लागि उहाँले मत माग्नुभएको छैन,’ उनले भने, ‘सरकारका लागि उहाँले विश्वासको मत माग्नुभएको हो, सरकारलाई अहिले नै विश्वासको मत दिने बेला भएको छैन ।’

केन्द्रसँग लडेर आफूहरुले केही महत्त्वपूर्ण कामको सुरुवात गरेको भन्दै उनले त्यसलाई निरन्तरता दिन पनि मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराए । भौतिक संरचना निर्माण र कर्मचारी व्यवस्थापनमा ध्यान दिन पनि उनले सुझाव दिए । ‘कृष्णचन्द्रजीले गर्नुहुन्छ या पृथ्वी सुब्बा गुरुङले गर्छ भन्ने कुरा महत्त्वपूर्ण होइन तर गण्डकीलाई समृद्ध र प्रदेशवासीलाई सुखी बनाउने रोडम्याप महत्त्वपूर्ण हो,’ उनले भने, ‘यसमा हाम्रो साथ रहनेछ ।’

बजारसँग नजोडिएको जनशक्ति उत्पादन गरेर के काम भनेर नै आफूहरुले गण्डकी विश्वविद्यालय स्थापना गरेको उनले सुनाए । बजारको आवश्यकताअनुसार प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us