मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

काठमाण्डु टुडे २०७८ असार ४ गते ७:३८ मा प्रकाशित

पोखरा, ४ असार–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

पोखरेललाई गत २९ जेठमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । एमाले नेता पृथ्बीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्रीबाट पदमुक्त भएलगत्तै पोखरेल काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका व्यक्तिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । कूल ५९ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री पोखरेलका पक्षमा ३१ र विपक्षमा एमालेका २७ सांसद छन् । यस्तोमा मुख्यमन्त्रीले सहजै विश्वासको मत पाउने निश्चितजस्तै छ ।

विश्वासको मत प्राप्त गरेलगत्तै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । यसअघि उनले चार मन्त्री नियुक्त गरे पनि सबैलाई विनाविभागीय हैसियतमा राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us