बैतडीमा ४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

रासस २०७८ असार ३ गते ११:४१ मा प्रकाशित

बैतडी, ३ असार– विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमल राम विक पक्राउ परेका छन् ।

विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बीमा भरेमा अनुदान दिन्छु भनी ठगी गरेको भन्दै  स्थानीयवासीले दिएको जाहेरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहीले बताए।

विकले सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरिदिन्छु भन्दै स्थानीयबासीबाट रकम सङ्कलन गरेर ठगी गरेको पाइएको  हो  ।

उनले भने, “महेन्द्रनगरबाट रु २५ लाख र बैतडीबाट रु १५ देखि २० लाख रकम सङ्कलन गरेर स्थानीयवासीलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, नियन्त्रणमा रहेका विकमाथि आज मुद्दा दायर हुन्छ  ।”

सिगास र महेन्द्रनगरको संयुक्त टोलीले जाहेरी दिएका छन् । उनले थपे, “एक वर्षदेखि बीमाको एजेन्ट भनी ठग्दै हिँडेको रहेछ, पछिल्लो चार महिनादेखि प्रहरीले खोजी गरिरहेको थियो ।”

कमलराम बीमाको एजेन्ट भए पनि उनीमाथि कम्पनीलाई पनि ठगेको आरोप लागेको छ ।  स्थानीयबासीबाट बीमा गरिदिन्छु भन्दै पैसा लग्ने गरेको भए पनि कम्पनीलाई नबुझाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका कमलमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कमलले ठगी गरेको भन्ने ६० जना जति सम्पर्कमा आएको शाहीको भनाइ छ ।

कमलराम विकसँगै दुई जना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको र उनीहरु फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us