जयपृथ्वी राजमार्ग दुई दिनपछि खुल्यो

रासस २०७८ असार ३ गते ११:३६ मा प्रकाशित

बैतडी, ३ असार– सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ  । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।

लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिबीको सहयताले बुधबार दिउँसोपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छाउन समस्या भएको थियो । उनले भने, “पानी पर्ने क्रम रोकिएपछि सडक विभागको स्काभेटर र जेसीबी लगाएर सडकमा खसेको पहिरो पन्छाइएको छ, अहिले सडक खुलेको छ ।”

बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रु पहिरोका कारण रोकिएका थिए ।

अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि बीचबाटोमै  रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन र अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू आआफ्नो गन्तव्यमा हिँडेका छन् । पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us