पाल्पामा सडक दुर्घटना, गुल्मीका एक पुरुषको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ ३० गते १८:१३ मा प्रकाशित

पाल्पा, ३० जेठ– पाल्पामा भएको सडक दुर्घटनामा परेर गुल्मीका एक पुरुषको मृत्यु भएको छ । आइतबार दिउँसो पाल्पाको रिब्दिकोट २ लघुवामा भएको सडक दुर्घटनामा परेर गुल्मी रुरुक्षेत्र गाउँपालिका–२ का ४५ वर्षीय टंकबहादुर कुँवरकोे मृत्यु भएको हो । घाइते कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते ४ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बा ४ ख ७३२० नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको र अगाडि रहेको प्रदेश ३–००१ क ०२५० नम्बरको टिपरलाई ठक्कर दिँदा सो टिपर सडकदेखि २२० मिटर तल खसेको थियो ।

सोही ट्रकका सह–चालक नवलपरासीको सुनवल नगरपालिका ९ घर बताउने २२ वर्षीय किसन कुँवरको अवस्था सामन्य रहेको र घाइते सबैलाई युनाइटेड मिशन अस्पताल पाल्पा पठाइएको डिएसपी त्वातीले जानकारी दिए ।

घाइते कुँवरको १ बजेर ३५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । उनी दुर्घटनाग्रस्त टिपरको सह–चालक रहेको त्वातीले बताए । दुर्घटनाग्रस्त टिपरका चालक ३८ वर्षीय अशोक कुँवरको अवस्था सामान्य छ ।

त्यसमा सवार रुरुक्षेत्र –२ की ४२ बर्षीया रिमा कुँवरको अवस्था भने गम्भीर रहेको बताइएको छ । त्यस्तै ठक्कर दिने टिपरका चालक ललितपुर घर बताउने २६ वर्षीय राजेन्द्र बजागाइँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us