केपी ओलीलाई अर्को झड्का, गण्डकीमा कृष्णन्द्र मुख्यमन्त्री नियुक्त

काठमाण्डु टुडे २०७८ जेठ २९ गते १७:५१ मा प्रकाशित

पोखरा, २९ जेठ– कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार शनिबार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । पोखरेललाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समेतले समर्थन गरेपछि पोखरेलको पक्षमा संसदको बहुमत अर्थात ३१ सांसद पुगेका थिए । प्रदेश प्रमुखले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेकै दिन शुक्रबार पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

जसपाका २ र पार्टीबाट बर्खास्तीमा परेका जनमोर्चाका सांसद कृष्ण थापाको समर्थन आफूलाई रहेको दाबी गर्दै पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा पुनः दाबी गरेका थिए । तर, किर्ते गरेको भन्दै पोखरेलसहित बहुमत सांसदले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us