प्रधानमन्त्रीलाई गोली हान्छु भन्ने वैद्यले माफी मागे

काठमाण्डु टुडे २०७८ जेठ २९ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– नेपाली काँग्रेसका बागमति प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओलीको हत्या गर्नेबारे दिएको विवादास्पद अभिव्यक्तिप्रति क्षमा मागेका छन् ।

शनिबार प्रदेशसभा बैठकको सुरुमै सभामुखसँग समय मागेर बोलेका वैद्यले आवेशमा अभिव्यक्ति दिँदा गल्ती भएको बताए । वैद्यले आफ्नो भनाइप्रति आत्मालोचना गर्दै उक्त अभिव्यक्ति फिर्ता लिएको बताए । उनले ओलीसँग आफ्नै व्यक्तिगत रिसीइबी केही नरहेको पनि उल्लेख गरे । हत्याहिंसामा विश्वास नगर्ने भन्दै वैद्यले आफू गान्धीवादी सोचबाट प्रेरित रहेको जिकिर गरे ।

वैद्यले आत्मालोचना गरेपछि उनको अभिव्यक्ति सभामुख सानुकुमार श्रेष्ठले रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । यसअघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै वैद्यलाई उक्त अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न पार्टीका तर्फबाट निर्देशन गरिसकिएको बताएका थिए ।

शुक्रबार प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीलाई भारतमा नाथुराम गोड्सेले गोली हानी हत्या गरे जसरी हत्या गर्नुपर्ने भन्दै कोही गोड्से बन्न तयार नभए आफूले नै ओलीलाई हत्या गर्ने धम्की दिएका थिए ।

‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु’, वैद्यले भनेका थिए । उनको अभिव्यक्तिको सर्वत्र निन्दा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us