‘नेपाली नाथुराम’ लाई फौजदारी अभियोगमा कारबाही गर्ने एमालेको तयारी

काठमाण्डु टुडे २०७८ जेठ २९ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– सत्तारुढ एमालेले आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको हत्या गर्ने धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ ।

प्रवक्ता प्रदीपकुमार ज्ञवालीले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्याबारेको अभिव्यक्ति निन्दनीय रहेको बताएका हुन् । काँग्रेस बागमति प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै भारतमा महात्मा गान्धीको नाथुराम गोड्सेले गोली हानी हत्या गरेजस्तै ओलीको हत्या जरुरी भइसकेको र त्यसका लागि कोही तयार नभए आफू तयार रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए । एमालेले वैद्यको अभिव्यक्ति आपराधिक र निन्दनीय भन्दै फौजदारी कानूनअनुसार कारबाही गर्ने संकेत दिएको छ ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ’, ज्ञवालीले विज्ञप्तिमा भनेका छन्, ‘‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us