ओलीलाई गोली हान्छु भन्ने सांसदलाई काँग्रेसले भन्योः बोली फिर्ता लिएर माफी माग्नु

काठमाण्डु टुडे २०७८ जेठ २९ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री कपी ओलीबारे विवादास्पद अभिव्यक्ति दिएका बागमति प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई माफी माग्न निर्देशन दिएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिएको बताएका हुन् । शर्माका अनुसार प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबारै पार्टीले उक्त निर्देशन फिर्ता लिएर माफी माग्न निर्देशन दिइएको शर्माले उल्लेख गरेका छन् । काँग्रेसले अभिव्यक्तिमा संयम र सजगता अपनाउन सचेत गराइएको स्पष्ट गरेको छ ।

विज्ञप्तिमा हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजनकारी भूमिका खेल्ने दलको कुनै पनि सदस्यबाट हिंसा प्रेरित अभिव्यक्ति आउँनु उचित नभएको उल्लेख छ । शर्माले विज्ञप्तिमा वैद्यको अभिव्यक्तिको प्रतिरक्षा र ढाकछोप गर्ने पार्टी नीति र संस्कृति नभएको बताए पार्टी नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुने स्मरण शर्माले गराएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको भन्दै शर्माले आलोचना लोकतान्त्रिक हक भए पनि त्यसको प्रयोग गर्दा पार्टी नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन नमिल्ने उल्लेख गरे । ‘नेपाली काँग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ ।’

बागमति प्रदेशको प्रदेशसभामा शुक्रबार बोल्दै काँग्रेस सांसद वैद्यले भारतमा महात्मा गान्धीको नाथुराम गोड्सेले गोली हानी हत्या गरेको चर्चा गर्दै प्रधानमन्त्री ओलीलाई पनि कसैले कसैले त्यसो गनुपर्ने अवस्था आएको र अरुले नगरे आफैं ओलीको हत्या गर्न पछि नपर्ने गैरजिम्मेवार र असंसदीय अभिव्यक्ति दिएका थिए । वैद्यको अभिव्यक्तिको सर्वत्र निन्दा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us