ओलीको वक्तव्यले माधव नेपाल समूहमा फुट

काठमाण्डु टुडे २०७८ जेठ २४ गते ७:५७ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेसँगै एमालेको माधवकुमार नेपाल समूहमा दुई धार देखिएको छ ।

ओलीको घोषणाको स्वागत र विरोधमा नेताहरुले अभिव्यक्ति दिएका छन् । सचिव योगेश भट्टराईले ओलीको घोषणाको स्वागत गर्दै कार्यदलको बैठकमार्फत बाँकी विषयको समाधान गर्दै जानुपर्ने बताएका छन् ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान मूलतः सकारात्मक छ’, भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वबीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्छु । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरू हुन्छ ।’

भट्टराईले ओलीको घोषणसँगै विवाद समाधानाका लागि गठित कार्यदलले काम गर्ने बाटो खुलेको समेत बताए । उनले घुमाउरो शैलीमा ओलीको प्रस्ताव स्वीकार गर्दै संसद विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिनुपर्ने बताएका छन् ।

‘सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ,’ भट्टराईले लेखेका छन् ।

तर, पोलिट्ब्युरो सदस्य जगन्नाथ खतिवडाले ओलीको विज्ञप्ति भ्रम र झुठको खेती भएको प्रतिक्रिया दिएका छन् । खतिवडाले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरुलाई समेत केन्द्रीय समितिमा राखेर एमालेको तत्कालीन २ सय ३ सदस्यीय केन्द्रीय कमिटीलाई २ सय ६४ सदस्यीय बनाएको र जेठ २ मा फर्किएको भ्रमपूर्ण घोषणा गरेको बताए ।

‘ओलीले तत्कालीन एमालेको २०३ जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिएर माओवादीसमेत समावेश २६४ सदस्यीय बनाएका छन्’, खतिवडाले फेसकुबमा लेखेका छन्, ‘उनले जेठ २ को पूर्वअवस्थामा जानुपर्नेमा सुनियोजित रूपले जेठ ३ को पूर्वअवस्थामा लेखेर जाल गरेका छन् ।’

खतिवडाले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चमा पेस भएको एमाले सांसदहरूको हस्ताक्षर फिर्ता लिन लाउने मात्र ओलीको नियत देखिएको टिप्प्णी गरे ।

‘उनले अरू कुनै कुरामा आफूलाई सच्याएका छैनन् । यो हाम्रो सहमतिको वक्तव्य हुँदै होइन । मातहत पार्टी कमिटी र जनसंगठनबारे उनले एमाले कालमा नफर्काउने गरी ‘मूलभूत रूपमा’ भन्ने शब्द राखेर षड्यन्त्रको बाटो सुरक्षित गरेका छन्,ु खतिवडाले भनेका छन्, ‘यो स्वीकार्य छैन । यसमा नअल्मलिनुहुन अनुरोध छ ।’

खतिवडाले यसबीच विभिन्न कमरेडहरूले गल्ती गरेकोमा कारबाही गरिने छैन भन्ने ओलीको विज्ञप्तिमा वाक्यांशमा समेत आपत्ति जनाएका छन् । निष्काशन गरिएकाहरुको कारबाही फिर्ता नगरी कार्यकर्तालाई अलमल्याउने तर्क गरिएको खतिवडाले बताए ।

ओलीले आफ्ना गल्ती स्वीकार नगरेको भन्दै उनको झूट र भ्रमको पुलिन्दाको भ्रममा नपर्न अपिल गरे । खतिवडाले संसद विघटन गरेकामा माफी माग्दै विघटन फिर्ता लिनुपर्नेमा उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकताको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us