जथाभावी आइसोलेसन नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।

कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघ–संस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिन्डर लगायत सामाग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरूको समन्वय, प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए । उनले भने– ‘पछिल्लो समय आइसोलेसनको नाममा मानिसहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ ।

तर हामी सबैले बुझ्नुपर्ने विषय चाहिँ मानिसहरु आइसोलेसनमा आफ्नो घरको छुट्टै कोठामा बस्नुभन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुँदैन ।’
अधिकारीले टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साँच्चै आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफुहरु चिन्तित बनेको बताए ।

अधिकारीले कोभिड १९ को उपचार नभइरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us