त्यो पर्दैन प्रकरणः सर्वोच्चले माग्यो ओलीसँग लिखित जवाफ

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १५:११ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिने क्रममा केही शब्दावली बाचन नगरेको विषयमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र ओलीसँग लिखित जवाफ माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले मंगलबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहित विपक्षीसँग लिखित जवाफ माग गरेको हो । प्रधानमन्त्री ओलीको सपथग्रहण बदर र पुनः सपथ ग्रहणको माग गर्दै सोमबार सर्वोच्चमा छुट्टाछुट्टै चार रिट दायर भएका थिए ।

ओलीले तेश्रोपटक प्रधानमन्त्रीको सपथ लिने क्रममा शुक्रबार सपथको व्यहोरामा उल्लेख भएको ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश उच्चारण गर्न इन्कार गरेका थिए ।
सपथका क्रममा राष्ट्रपतिले दुईपटकसम्म ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश दोहो-याएकी थिइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भन्दै उक्त वाक्यांश उच्चारण गर्न इन्कार गरे । ओलीले ‘त्यो पर्दैन’ भनेपछि राष्ट्रपति भण्डारी हि..हि.. गरेर हाँसेकी थिइन् ।

रिटमा अर्को सपथ नलिएसम्म प्रधानमन्त्रीका रुपमा कामकाज गर्न नदिन गरिएको माग भने सर्वोच्चले अस्वीकार गरेको छ । रिट निवेदकले कामकाज गर्न नदिन सर्वोच्चले अन्तरिम आदेश माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us