नगर अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

रासस २०७८ जेठ ४ गते १४:३८ मा प्रकाशित

तनहुँ, ४जेठ–  कोरोना सङ्क्रमित बढ्दै गएपछि तनहुँका स्थानीय तह आइसोलेशन निर्माणका लागि अग्रसर भएका छन् । सङ्क्रमितको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले अक्सिजनसहित आइसोलेशन कक्ष तयार पारेका छन् । पछिल्लो समय भानु नगरपालिकाले १७ श्ययाको आइसोलेशन कक्ष तयार पारेको छ । भानु नगरपालिका–५ स्थित पुरनडिही नगर अस्पतालमा नगरपालिकाले आइसोलेशन कक्ष तयार गरेको हो ।

 नगरपालिकाले तयार पारेको आइसोलेशन कक्षको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा अनुगमन गरिएको छ । कोरोना रोकथाम र न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहले गरिरहेको प्रयास उल्लेखनीय रहेको वाग्लेले बताए । वाग्लेले भानुले तयार गरेको आइसोलेशन कक्ष सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जिल्लाका सबै स्थानीय तह अग्रसर भएर लागिपरेको बताए । भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, प्रहरी उपरीक्षक अरुण पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारी लगायतको सहभागिता थियो । आइसोलेशन कक्षमा श्यया थप गर्ने तयारी गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । अस्पतालमा अक्सिजनसहितको आइसोलेशन तयारी अवस्थामा राखिएको छ ।

नगरपालिकामा हाल आठ सक्रिय सङ्क्रमित रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । नगरपालिकाले सबै वडामा कोरोना रोगसम्बन्धी परामर्शका लागि फोकल पर्सन तोकेको छ । वडा नं १ का लागि सन्तोष श्रेष्ठ, २ का लागि निर्मला अधिकारी, ३ का जितेन्द्र श्रेष्ठ, ४ का लागि सोविता राना, ५ का लागि डा सुरज श्रेष्ठ र स्मृति भण्डारी, ६ का लागि अन्जु रानाभाट, ७ का लागि श्रीध्वज गुरुङ, ८ का लागि सुवास देवकोटा, ९ का लागि रश्मा पौडेल, १० का लागि अञ्जना अधिकारी र पाण्डव ढकाल, ११ का लागि देवीमाया गुरुङ, १२ का सुमन थापा मगर र सुष्मा गिरी र १३ का लागि रेवती सुनार फोकल पर्सन तोकिएका छन् ।

अक्सिजन प्लान्ट स्थापना 
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेको र जिल्लामा अक्सिजन प्लान्टको आवश्यकता महसुस भएपछि तनहुँका प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल र राष्ट्रियसभा सदस्य भगवती न्यौपानेको विशेष पहलमा जिपीमा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो ।

अर्थ मन्त्रालयले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण, भेन्टिलेटर र आइसीयुका लागि रु नौ करोड बजेट विनियोजन गरेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) का अनुसार पाँच भेन्टिलेटर र १० वटा आइसियु श्ययाका लागि रु ६ करोड र अक्सिजन प्लान्ट निर्माण र उत्पादनका लागि रु तीन करोड गरी कूल रु नौ करोड अर्थ मन्त्रालयबाट विनियोजन भएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पतालको माग बमोजिम रु ३० लाख बजेट उपलब्ध गराउने निर्णयसमेत गरेको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम बढेपछि उपचार केन्द्रले अक्सिजनसहित आइसोलेशन कक्ष तयार गरेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि तनहुँका दशवटै स्थानीय तहको लागत सहभागितामा निर्माण सम्पन्न भएको भवन गत चैत ७ गते उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हाल आइसोलेशन भवनमा ३० श्यया तयार गरिएको छ । आइसोलेशनमा प्रत्येक श्ययामा अक्सिजनको व्यवस्था गरिएको छ । रु ७२ लाखमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको भवनमा शुक्लागण्डकी नगरपालिकाले १४, व्यास, भीमाद र भानु नगरपालिकाले १२/१२ प्रतिशत लागत सहभागिता बेहोरेका छन् । त्यस्तै, देवघाट गाउँपालिकाले पाँच, घिरिङ, म्याग्दे, ऋषिङ, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले ९/९ प्रतिशत लागत सहभागिता बेहोरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us