मौसममा पश्चिमी न्यून चापीय प्रणाली र चक्रवातको प्रभाव

रासस २०७८ जेठ ४ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वी मध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ ।

हाल पूर्वी मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तर­पश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो प्रणालीका कारण आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले आज बुलेटिनमार्फत जनाएको छ ।

बिहीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us