सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुखको कोरोनाबाट मृत्यु

रासस २०७८ जेठ ४ गते १०:३१ मा प्रकाशित

सप्तरी, ४ जेठ–  सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।

विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।

त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् ।

यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us