बी एण्ड सी मेडिकल कलेजलाई जबर्जस्ती सम्बन्धन दिने तयारी

काठमाण्डु टुडे २०७८ जेठ ३ गते १८:३१ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– मुलुक कोरोना संक्रमणका कारण निषेधाज्ञामा रहेका बेला काठमाण्डु विश्वविदालय (केयू) ले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरेको छ ।

केयूले बी एण्ड सीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको हो । केयूको ८९औं बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बी एण्ड सीलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए ।

केयू रजिष्ट्रार कार्यालयले चिकित्सा शिक्षा आयोगलाई लेखेको पत्रमा विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको उल्लेख छ ।

पत्रमा गत ३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको उल्लेख छ ।

डा. गोविन्द केसीको दबाबका कारण सरकारले उक्त कलेजलाई सम्बन्धन दिन सकेको थिएन । उक्त मेडिकल कलेजका अध्यक्ष दुर्गा प्रसाईं प्रधानमन्त्री केपी ओलीका प्रिय मानिन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us