माधव नेपाल पक्षका नेताहरुको आशंकाः आफू कुर्सीमा टिक्न ओलीले दुरुपयोग गरे

काठमाण्डु टुडे २०७८ जेठ १ गते २१:४४ मा प्रकाशित

काठमाण्डु, १ जेठ– एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन आफूहरुलाई प्रयोग गरेको आशंका गरेका छन् ।

शनिबार बसेको सो पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा नेताहरुले ओली सत्ता टिकाउन आफूहरु प्रयोग मात्र भएको हो कि भन्ने आशंका गरे । ‘ओलीले सत्ता टिकाउन मात्र प्रयोग मात्र गर्न सक्ने आशंकालाई गलत मान्न सकिँदैन’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘मेरो विचारमा वार्ताका नाममा अल्मल्याएर सत्तधा टिकाउने दाउपेच मात्र हुन सक्छ ।’

गैरेले ओली जेठ २ को २०७५ अघिको सांगठनिक संरचनामा फर्कन तयार हुनेमा शंका रहेको बताए । अर्का केन्द्रीय सदस्य निरज आचार्यले पनि ओलीको भनाइ र गराइमा फरक हुने भन्दै जेठ २ को अवस्थामा फर्कने मोडालिटी के हुने भन्नेबारे प्रष्ट सहमति नभएकाले आशंकालाई ठाउँ मिलेको उल्लेख गरे ।

नेतृ दिलु पन्तले सहमतिमा अघि बढ्ने प्रतिबद्धता जनाए पनि राजदूतलगायतमा मनपरी ढंगले नियुक्तिको क्रम नरोकिएको भन्दै ओलीमाथि विश्वास गर्ने आधार नभएको बताइन् । आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै सहमति गर्ने र पछि उल्लंघन गर्ने ओली चरित्रबारे सचेत हुनुपर्ने उनको भनाइ थियो ।

करिब विभाजनको डिलमा पुगेको एमालेमा पार्टी एकता बचाउन वार्ता भइहरेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जेठ २ गतेअघिको सांगठिनक संचरनामा फर्काउन तयार रहेको प्रतिबद्धतापछि राजीनामा दिने अन्तिम तयारी गरिसकेका नेपाल पक्षीय सांसद पछि हटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us