यो बेला स्वार्थ प्रति चिन्तित हुने प्रवृत्ति उचित होइन र यो स्वीकार्य हुनसक्दैनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७८ वैशाख ३१ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्नो स्वार्थ प्रति चिन्तित हुने बेला नभएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबारमा पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी सेक्न छोडेर कोभिड १९ महामारीविरुद्धको लडाईमा एकजुट हुन आग्रह गरेका हुन् ।

‘सबैले हामीलाई हेरिरहेका छन् कि कति गम्भीरताका साथ गइरहेका छौ । यस्तो बेलामा पनि देश, जनताप्रति चिन्तित नहुने र आफ्नो स्वार्थ प्रति चिन्तित हुने प्रवृत्ति विल्कुलै उचित होइन र यो स्वीकार्य हुनसक्दैन’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

यस्ता प्रवृति छोड्न सबै राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह थियो । उनले अहिले कोभिड १९ का विरुद्ध लड्नुपर्ने बेलामा अस्वस्थ, अनुचित र जनतामा निराशा पैदा गर्ने र सरकारका प्रयास असफल पार्न खोज्ने, भ्रमपूर्ण प्रचार गर्ने र जता पनि भ्रष्टाचार देख्ने, काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने प्रवृति हावी भइरहेको बताए ।

साथै उनले देश र जनताप्रति पूर्ण बफादारिताका साथ सपथ शब्दको पालना गर्ने भन्दै त्यसका लागि सदाझैँ इमानदारी, सक्रियता र पारदर्शिताका साथ कर्मचारीबाट सहयोग हुने विश्वास समेत व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us