नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा १६ शय्याको आइसोलेशन बनाइने

रासस २०७८ वैशाख २६ गते १०:३८ मा प्रकाशित

डडेल्धुरा, २६ वैशाख–  डडेल्धुरा अस्पतालमा कोरोना सङ्क्रमित जटिल अवस्थाका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेशन बनाइने भएको छ

डडेल्धुरा अस्पताल नजिकै रहेको रेडक्रस भवनमा तत्काल १६ शय्याको आइसोलेशन व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

कोरोना महामारी न्यूनीकरणका लागि आवश्यक पहल गर्न गृहजिल्ला पुगेका सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरा अस्पतालमा आइसोलेशन शय्या कम हुँदा जटिल किसिमको लक्षण देखिएका बिरामीलाई अक्सिजन दिएर उपचार गर्न समस्या भएकाले तत्काल आइसोलेशन निर्माणका लागि जिल्लास्थित सरोकारवालासँग छलफल गरेका थिए।

शनिबार कोरोना महामारीको सङ्क्रमणका साथै महामारीबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि डडेल्धुरास्थित प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर र घटालबाबा मन्दिरमा पुगेर सङ्कल्प पूजा गरेका मल्ल दिउँसो डडेल्धुरा अस्पताल पुग्नुभएको थियो ।

अस्पतालमा पुगेर कोरोना सङ्क्रमित बिरामीसँग भेटघाट गरेका प्रदेशसभा सदस्य मल्लले अस्पताल प्रशासनसँगै जिल्लास्थित सरोकारवालासँग छलफल गरेपछि तत्काल रेडक्रस भवनमा अक्सिजन दिएर उपचार गर्न सकिने १६ शय्याको आइसोलेशन निर्माण गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, स्वास्थ्य कार्यालय डडेल्धुरा प्रमुख आशुतोष श्रेष्ठ, अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल, डडेल्धुरा अस्पताल विकास समितिका पदाधिकारीका साथै मेडिकल सुपरिटेन्डेण्ट डा. जगदीशचन्द्र विष्टसहित जिल्लास्तरीय सरोकारवालासँग छलफलपछि डडेल्धुरा अस्पताललाई आवश्यक पर्ने अक्सिजनको सहज आपूर्तिका लागि पहल गर्ने निर्णयसमेत गरिएको छ ।

छलफलका क्रममा नेपाली कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका मल्लले कोरोना सङ्क्रमित बिरामी, कुरुवा र अन्य अलपत्रमा परेका नागरिकका लागि नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलमार्फत खाना, आवासको प्रबन्ध गर्न सकिने र कांग्रेस डडेल्धुराको कार्यालय किसुनजी भवनमा आइसोलेशन निर्माण गर्न सकिने प्रस्ताव राखेका थिए। विगतमा स्थानीय तहले कोरोना महामारी व्यवस्थापनमा देखाएको सक्रियताका कारण छोटो समयमै महामारी नियन्त्रणमा आएको चर्चा गर्दै मल्लले जिल्लाका सातवटै स्थानीय तह, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्था सबैले राजनीतिक विचारधाराबाट माथि उठेर कोरोना महामारी नियन्त्रणका लागि सक्दो सहयोग गर्नुपर्ने औँल्याए ।

रेडक्रस भवनमा निर्माण हुने आइसोलेशनको व्यवस्थापनका लागि सबै सरोकारवालाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेस डडेल्धुराद्वारा गठित सेवा दललाई देशविदेशबाट सहयोग हुन थालेको र मानवीय सेवाको भावना भएका मनकारी मानिस सेवा दलसँग जोडिन पुगेकाले सेवा दलले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि सक्दो पहल गर्ने मल्लले जानकारी दिए । सेवा दलमा सम्बद्ध सबै स्वयंसेवकका साथै सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए ।

सत्तारुढ नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष प्रकाश साउदसमेत कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै सङ्क्रमितको उपचारका लागि निःशुल्क एम्बुलेन्सका साथै महामारीका कारण अकाल मृत्यु भएका बिरामीको शव व्यवस्थापनमा समेत सघाइरहेका छन् । जिल्लास्थित राजनीतिक दलहरुले कोरोना महामारी व्यवस्थापनमा अतुलनीय योगदान पु¥याइरहेको सहायक प्रजिअ अर्यालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us