नेपाल पक्षका सांसदको सामूहिक राजीनामापत्र तयार

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते ९:०९ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरुले आज सामूहिक राजीनामा दिँदैछन् ।

सामूहिक राजीनामाबारे छलफल गर्न सो पक्षको स्थायी समिति बैठक बोलाइएको छ । यसअघि शनिबार बसेको सांसदहरुको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली पार्टी एकताका लागि गम्भीर नरहेको भन्दै सामूहिक राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको थियो । नेपाल समूहमा ३८ सांसद थिए ।

तीन जना ओलीतिर लागेपछि अब ३५ सांसद बाँकी छन् । जसमध्ये प्रत्यक्ष निर्वाचित २२ र १३ समानुपाकित छन् । प्रत्यक्ष निर्वाचितले मात्र राजीनामा दिने तयारी भए पनि शनिबारको बैठकमा समानुपातिकतर्फका सांसदले आफूहरु सांसदकै रुपमा बसेर ओलीको सहयोगी बन्न नसक्ने भन्दै राजीनामा दिने बताए । श्रोतका अनुसार सांसदहरु सामूहिक राजीनामापत्र नै तयार भइसकेको छ ।

नेपाल समूहले पटकपटक पार्टी एकता बचाउन २ जेठ २०७५ (माओवादी केन्द्रसँग एकताअघि) मा फर्कन र २८ फागुनमा ओली पक्षले गरेको नेताहरुको जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका बादलसहितलाई केन्द्रीय समितिमा मनोनित गरिएको निर्णयबाट पछि हट्न ओलीलाई आग्रह गर्दै आएको छ । तर, ओली त्यसो गर्न तयार भएका छैनन् ।

नेपाल समूहले राजीनामा दिए ओली थप अप्ठ्यारोमा पर्नेछन् । ओलीले विश्वासको मत लिन चाहेपछि राष्ट्रपति विद्यादेवै भण्डारीले २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् । त्यसअघि नै सामूहिक राजीनामा दिने तयारी नेपाल समूहको छ ।

यो बीचमा सहमति प्रयासमा दुवै समूहका दोश्रो तहका नेता सक्रिय भएका थिए । ओली तर्फका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमाल तथा नेपालतर्फका घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले छलफल गरेका थिए । तर, ओली पछि हट्न तयार नभएपछि उनीहरुको प्रयास व्यर्थ भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us