काँग्रेसद्वारा संवैधानिक परिषद बैठक बहिस्कार गर्ने घोषणा

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद बैठक बहिस्कार गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठकमा सहभागी नहुने बताएका हुन् । ओलीले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति सिफारिसका लागि आइतबार पािरषद बैठक बोलाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदमा तीन सदस्यले मात्र नियुक्ति गर्ने मिल्ने गरी अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना मात्र बैठक बसेर यसअघि पनि संवैधानिक निकायमा पदाधिकारी र सदस्य सिफारिस गरेका थिए । देउवाले विज्ञप्तिमा पार्टीगत मनसायबाट प्रेरित भएर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइएकाले आफू बैठकमा सहभागी हुन नसक्ने स्पष्ट गरेका छन् ।

‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ’, देउवाले भनेका छन्, ‘संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’

देउवाले लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारबाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । सरकारले संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको देउवाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us