ओली सरकार टिकाउन राष्ट्रपति सक्रिय, माधव नेपाललाई बोलाइन शीतलनिवास

काठमाण्डु टुडे २०७८ वैशाख २३ गते २०:०२ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई शीतलनिवास बोलाएकी छन् ।

राष्ट्रपतिले बोलाएपछि नेता नेपाल शीतलनिवास पुगेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेर नेपाल सिधै राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । श्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीसँग मिलाउने प्रयासमा राष्ट्रपतिले नेपाललाई बोलाएकी हुन् ।

यसअघि ओलीले बिहीबार दिउँसो भेटेर राष्ट्रपतिलाई नेता नेपाललाई सम्झाइदिन आग्रह गरेका थिए । २७ वैशाखमा आफैंले विश्वासको मत लिन संसदको विशेष अधिवशेन बोलाएका ओलीले सत्ता गुम्ने खतरा बढेपछि सक्रियता बढाएका छन् । नेपाल समूहका २२ सांसदले ओलीलाई विश्वासको मत दिनुअघि नै सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

काँग्रेससँग विश्वासको मत लिने प्रयास विफल भएपछि ओली नेपाल समूहलाई फकाउने रणनीतिमा लागेका छन् । यसअघि मेरियट होटलमा लगातार दुई दिन भएको भेटपछि ओली–नेपाल सम्बन्ध थप चिसिएको छ ।

पार्टी राजनीति र त्यसमा पनि एमाले ओली समूहका लागि काम गरेको आरोप खेप्दै आएकी राष्ट्रपति भण्डारीले ओली सरकार टिकाउन नेपाललाई फकाउने रणनीतिका साथ बोलाएको अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us