ओली सरकारका चार मन्त्री कोरोना संक्रमित

काठमाण्डु टुडे २०७८ वैशाख २३ गते १९:१७ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो दम्पत्तीलाई कोरोना संक्रमण भएको छ ।

महतोसँगै उनका श्रीमान एवं पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोना भएको हो । महतोले ट्विटमार्फत आफू र श्रीमान कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । महतोले आफूहरु चिकित्सकको निगरानीमा रहेको तथा आत्मविश्वास र मनोबल उच्च रहेको बताइन् ।

उनले आफू पूर्ण निको भएर छिट्टै नियमित काममा फर्कने भन्दै सबैलाई सचेत हुन अपिल गरेकी छन् । योसँगै केपी ओली सरकारका चार मन्त्रीलाई कोरोना भएको छ । केही दिनअघि मात्र कोरोना पुष्टि भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल अझै आइसोलेसनमा छन् । यस्तै ऊर्जामन्त्री टोपबहादुर रायमाझी र खानेपानीमन्त्री मणिचन्द्र थापा पनि कोरोना संक्रमित भएका छन् ।

जनतालाई महामारीबाट जोगिन सामाजिक दूरी कायम गर्न र घरबाट बाहिर ननिस्कन आग्रह गर्ने प्रधानमन्त्री र मन्त्रीहरु भने स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सभा, जुलुस, उदघाटन र शिलान्यासजस्ता कार्यक्रममा भिडभाड जम्मा गर्दै हिंडेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us