सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते १७:२० मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने एक स्थायी कमिटी सदस्यले बताए । यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

तर, प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us