काठमाण्डु, १५ वैशाख– प्रधानमन्त्री केपी ओली एमालेको अर्को पक्षका नेतासँग दुई विषयमा कुरै गर्न चाहँदैनन् । एउटा हो, ०७५ जेठ २ मा फर्किएर बैठक बस्ने र दोस्रो हो, फागुन २८ मा थपिएका २३ जनालाई एकै छिन भए पनि अलग राख्ने ।
केही दिनअघि उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र अर्का उपमहासचिव घनश्याम भुषालबीच कुराकानी हुँदा घनश्यामले आफूहरु फ्लोर क्रस गर्ने मनस्थितिमा नभएको बताए । बालुवाटारलाई लागिरहेको छ– संसदमा फ्लोर क्रस गर्ने माधव नेपालहरुको रणनीतिबाट गोकर्ण, घनश्याम र योगेश भट्टराईहरु अलग भइसके । शायद यस्तै सूचना पाएर होला, माधव नेपालसँग दोस्रो दिनको एक्लो वार्ता हुँदा प्रधानमन्त्री आफ्नो अडानबाट तलमाथि नभएका । तर, यो सूचना पूर्णतः सत्य नभएको स्रोत बताउँछ ।
ओली पक्षको दावी छ– माओवादीबाट आएकाहरु जो–जो केन्द्रीय नेतृत्वमा राखिएका छन्, उनीहरु त्यो हैसियतकै हुन् । प्रदेश मन्त्री भएका झपट बोहोरा, दधिराम न्यौपाने, टंक आङ्बुहाङहरु पनि केन्द्रीय सदस्य बनाइएका छन् । त्यसो त माओवादी केन्द्रतिर तल्लो स्तरको कमिटीमा रहेका गौरीशंकर चौधरी, धर्म रेग्मीहरु पनि एमालेमा केन्द्रीय सदस्य बनाइएका छन् ।
ओलीपक्षका केही नेताबाट एकताको खाका पनि प्रस्तुत भइरहेको छ । केन्द्रीय कमिटीलाई छाडेर प्रदेश र जिल्ला नेतृत्वमा मान्छेहरुको व्यवस्थापन गर्दै जाने । एमालेको अधिवेशनबाट आएका जिल्ला कमिटी ७५–८० सदस्यीय छन् । ठूला जिल्लामा अलिक बढीका कमिटी होलान् । नेकपा हुँदा जिल्ला कमिटीलाई ठूलो बनाइएको थियो ।
निर्वाचन क्षेत्र जति बढ्छन्, त्यसमा १०–१० का दरले फेरि थपिएको थियो । त्यसरी थपिँदा नेतृत्वमा रहनै पर्ने, तर विविध कारणले पछाडि पारिएका मान्छेहरु पनि छुटेका छन् । यदि एमालेको अधिवेशन र नेकपाकै जिल्ला कमिटीभित्रबाट समाधान खोजियो भने ०७५ जेठ २ को स्थिति भन्ने माधव नेपालहरुको माग पनि समेटिने भयो । तर, यस्तो खाकामाथि कतै बहस भने शुरु भएको छैन ।
जनआस्थाबाट