कैलालीमा पछिल्लो समय कोरोनाको सङ्क्रमण दरमा बृद्धि

रासस २०७८ वैशाख १२ गते १५:४४ मा प्रकाशित

कैलाली, १२ बैशाख–  पछिल्लो समय कोरोनाको सङ्क्रमण दरमा बृद्धि हुँदै गएको छ ।  यसका रोकथाम तथा नियन्त्रणमा कैलालीका स्थानीयले कुनै तयारी नगरेका छैनन् । समुदायस्तरमै कोरोना फैलिसकेको बताइएको छ ।

  स्थानीय तहले गर्ने स्वाब परीक्षण तथा एन्टिजेन्ट परीक्षण समेत बन्द गरेका छन् । कतिपयले बजेट अभावका कारण तयारीको काम अगाडि बढाउन नसकिएको बताएका छन् ।

टीकापुर नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । अहिले नगरपालिकामा कोरोना परीक्षणको कामसमेत बन्द छ । नगरपालिकामा यही वैशाख १ गते  १४ जना पिसिआर पोजेटिभ र १३ जनामा एन्टिजेन्ट पोजेटिभ कोरोना सङ्क्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गएको छ । गत फागुनदेखि चैत मसान्तसम्म भारतबाट फर्किएका करीब १५० जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकामा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

“नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्न सकेको छैन । नगरपालिकाको बैठक बसेर आवश्यक निर्णय गर्नुपर्ने भएकाले तयारीको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।”

उनले भने, “आज÷भोलिसम्म बैठक बस्छ । बैठक निर्णयनुसार हामी कामलाई अगाडि बढाउने छौँ ।” उनले नगरपालिकामा कोरोना परीक्षण नहुँदशङ्कास्पद बिरामी नेपालगञ्ज, धनगढी गएर परीक्षण गराउँदै आएको बताउँदै धनगढीको तथ्याङ्क नगरपालिकालाई जानकारी गराउने गरेको भए पनि नेपालगञ्जको तथ्याङ्क नगरपालिकामा नआउने गरेको जानकारी दिए ।

“हामीसँग ३८ श्ययाको आइसोलेशन  वार्ड तयारी अवस्थामा छ । त्यसैलाई सञ्चालनको तयारी गर्दैछौँ”, उनले भने, “स्थिति अहिलेकोभन्दा पनि नराम्रो हुने सङ्केत देखा पर्दै गएका छन । हामी सबै सचेत हुनुको अर्को कुनै विकल्प छैन ।”

 भजनी नगरपालिकाले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि  काम अगाडि बढाएको छैन । नगरपालिकाका कोभिडको शीर्षकमा बजेट  छैन । भारतीय सीमासँग सिमाना जोडिएको भजनी कोरोनाको उच्च जोखिममा छ ।

नगरपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकले खेती गर्न नेपाल आउने गरेका छन् त्यसबाट झनै जोखिम भएको स्थानीय महेश बुढाले जानकारी दिए । नगरपालिकामा अहिलेको अवस्थामा त्यस्तो जोखिम नदेखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृति विकले केही दिनमै नगरपालिकाको बैठक बस्ने र योजना तयार गरिने बताइन् ।

“अहिले नगरपालिकामा त्यस्तो जोखिम देखिएको छैन । जोखिम छैन भनेर हात बाँधेर बस्ने अवस्था पनि छैन”, उनले भनिन्, “हामीले आन्तरिक व्यवस्थापनको काम अगाडि बढाएका छौँ । नगरपालिकासँग आवश्यक बजेटसमेत माग गर्ने तयारी भइरहेको छ ।”

उनले नगरपालिकामा पिसिआर टेस्टका लागि किट नभएको जनाउँदै एन्टिजेन्ट किट पनि सीमित भएकाले त्यसको तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् । ।  स्वास्थ्य शाखा प्रमुख विकले कुन परिस्थिति आइपर्ने हो भन्ने कुराको सजिलै आँकलन गर्ने सकिने अवस्था नरहेको बताइन् ।

“अहिले कोरोना परीक्षण शुरु गरिएको छैन । हामीसँग आवश्यक मात्रामा किटको अभाव छ । नागरिकको अहिलेको व्यवस्थालेस्थित नियन्त्रणभन्दा बाहिर जान पनि कुनै समय नलाग्न सक्छ ।” उनले भनिन्, “अब क्वारेन्टिनका लागि हामीसँग संरचना पनि छैन ।

त्यही ५ वार्डको आइसोलेशन छ त्यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” भजनीमा होम क्वारेन्टिन र होम आइसोलेशनमा कोरोनाका शङ्कास्पद बिरामी व्यवस्थापन गर्नुको विकल्प देखिँदैन ।

जानकीमा पनि अवस्था उस्तै रहेको छ  । गाउँपालिकाले तयारीको प्रक्रिया अगाडि बढाएको भने पनि तयारी भइनसकेको पाइएको छ । कोरोनाका शङ्कास्पद बिरामीको गाउँपालिकामा सहजै परीक्षण हुन सकेको छैन । “आकस्मिकरुपमा मात्रै कोरोनाको परीक्षण भइरहेको छ । पहिलेको जस्तो परीक्षण शुरु गरिसकेको अवस्था छैन ।

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, “आइसोलेशन तयारी अवस्थामा राखेका छौँ । किटको अभाव छ । टीकापुर अस्पतालसँग समन्वय भइरहेको छ ।” उनले कोरोना शीर्षकमा बजेट भएका कारण काम गर्न समस्या नभएको बताउँदै सबै संयन्त्रलाई तयारी अवस्थामा बस्न निर्देशन भइसकेको जानकारी दिए । गाउँपालिकामा अहिले सक्रिय सङ्क्रमित भने छैन ।

 टीकापुर अस्पतालले  आफ्नो तयारी अन्तिम चरणमा पुगेको बताएको छ । अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले आइसोलेशन वार्ड तयार भइरहेको जनाउँदै अन्य तयारी भइरहेको जानकारी दिनुभयो । कोरोनाको लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि अस्पतालले आइसोलेशन तयार पार्न लागेको हो ।

 स्थानीय तह अहिले प्रदेश र सङ्घीय सरकारको निर्देशनको पर्खाइमा  छन् । सङ्घीय सरकारले केही निर्देशन दिएको भए पनि यसको कार्यान्वयनमा स्थानीय तह पछाडि देखिएको छ । कैलाली जिल्लालाई कोरोनाको उच्च जोखिम जिल्लाका रुपमा घोषणा गरिसकेको भए पनि स्थानीय तहको ढिलासुस्तीमा कारण स्थिति नियन्त्रणभन्दा बाहिर जाने जोखिम पनि बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us